काठमाडौं, भदौ ९ गते । चिनियाँ प्रिमियम विद्युतीय कार ब्रान्ड अवतारले नयाँ इलेक्ट्रिक एसयूभी अवतार ०७ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को अवसर पारेर अवतार ०७ को बिक्री सुरु गरेको हो।

कम्पनीले अवतार ०७ को मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ। रियर–ह्वील ड्राइभ विकल्पमा उपलब्ध यो प्रिमियम इलेक्ट्रिक एसयूभीमा १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ।

अवतार ०७ मा ८२ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ६५० किलोमिटर सीएलटीसी रेन्ज प्रदान गर्न सक्छ। विद्युतीय मोटरले एसयूभीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमै पुर्‍याउन सक्ने कम्पनीको दाबी छ।

ADVERTISEMENT

आकारका हिसाबले अवतार ०७ को लम्बाइ ४ हजार ८२५ मिलिमिटर, चौडाइ १ हजार ९८० मिलिमिटर र उचाइ १ हजार ६२० मिलिमिटर रहेको छ। यसको ह्वीलबेस २ हजार ९४० मिलिमिटर छ।

ADVERTISEMENT

सुरक्षातर्फ अवतार ०७ मा ९ वटा स्ट्यान्डर्ड एयरब्याग, २७ वटा एड्भान्स सेन्सर र ३६० डिग्री क्यामेरा लगायतका सुविधा उपलब्ध छन्। त्यस्तै, ब्याट्री सुरक्षाका लागि आईपी६८ स्तरको वाटरप्रुफ प्रोटेक्सनसमेत दिइएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

प्रिमियम मूल्य र उच्चस्तरीय विद्युतीय प्रविधिसहित नेपाली बजारमा प्रवेश गरेको अवतार ०७ ले लक्जरी इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्ने देखिएको छ। नाडा अटो शोमा सार्वजनिक भएसँगै यसको मूल्य, रेन्ज र प्रिमियम फिचरले ग्राहकको ध्यान तानेको छ।