काठमाडौँ । सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।

प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था छ। तर, हालसम्म ११ जना सांसदले मात्रै आफ्नो नाम दर्ता गराएका छन्।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको चार वटा कोटामा अझै सांसदको नाम पठाएको छैन। अन्य दलबाट भने प्रश्न सोध्ने सांसदको नाम टुङ्गो लागेको छ।

ADVERTISEMENT

रास्वपाबाट अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले प्रश्न दर्ता गराएका छन्।

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङले नाम दर्ता गराएका छन्। त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन्।

ADVERTISEMENT

नेपाली कम्युनिस्ट पार्टीबाट सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्ने सूचीमा नाम दर्ता गराएका छन्।

रास्वपाले आफ्नो भागमा परेको चार सांसदको नाम पठाउन बाँकी रहेकाले हालसम्म ११ जनाको मात्रै सूची तयार भएको संसद् सचिवालयले जनाएको छ।