काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’बिच १४ बुँदे सहमति भएको छ ।
सहमतिसँगै महाअभियानले विगत केही समयदेखि गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको सघन छलफलपछि उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत यो सहमतिको जानकारी सार्वजनिक गरेकी हुन् ।
सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ उपत्यका केन्द्रित आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति वार्ता र सहमतिबाट टुङ्गिएपछि अब नागरिकका मागहरूलाई सरकारी प्रक्रियामार्फत सम्बोधन गरिने बताइएको छ । सहमतिपछि पुल्चोक क्षेत्रमा हुँदै आएको धर्ना पनि आजैबाट हटाइएको छ ।






