काठमाडौं । हरित अर्थतन्त्रमा संलग्न उद्यमी, कृषक तथा युवाद्वारा सञ्चालित व्यवसायको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच समझदारी भएको छ।

सम्झौताअनुसार हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायलाई वित्तीय सेवा र व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ। समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।

यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवद्र्धन र मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता तथा सेवा सञ्जालसँग जोड्नेछ।

ADVERTISEMENT

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा वित्तीय स्रोतसँगै व्यवसायीको क्षमता विकासमा समेत सहकार्य केन्द्रित हुने बताए। उनका अनुसार यसबाट हरित तथा जलवायु–उत्थानशील व्यवसाय विकास, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्नेछ।

ADVERTISEMENT

सहकार्यअन्तर्गत उद्यमी तथा कृषकलाई वित्तीय स्रोतको प्रभावकारी परिचालन र व्यवस्थापन गर्न आवश्यक क्षमता विकासमा पनि जोड दिइनेछ। बैंकले आफ्ना २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ र एक हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा विस्तार गर्ने जनाएको छ। दुवै संस्थाले हरित व्यवसायका लागि वित्तीय पहुँच विस्तार गर्दै दिगो तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

ADVERTISEMENT