ढाका । बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ। सत्तारूढ बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीर राष्ट्रपति बन्ने सम्भावना बलियो छ। बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ। सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना बलियो देखिएको छ।
७८ वर्षीय आलमगीरले पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिको निर्वाचनमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ। संसद्मा दिउँसो मतदान हुने तयारी छ। आलमगीरले राष्ट्रपति बन्ने विषय आफूले कहिल्यै नसोचेको भन्दै यसलाई पार्टी र अल्लाहको कृपाका रूपमा लिएको बताएका छन्। राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सन् २०२४ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको थियो। त्यसपछि गत फेब्रुअरीमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले ठूलो जित हासिल गरेको थियो।
हसिनाका निकट सहयोगीका रूपमा चिनिएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो। साहाबुद्दिन सन् २०२३ मा राष्ट्रपति निर्वाचित भएका थिए।
राष्ट्रपति पदका लागि आलमगीरको प्रतिस्पर्धा जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार ओली अहमदसँग हुँदैछ। आलमगीरको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि सुरु भएको हो। २६ जनवरी १९४८ मा जन्मिएका उनले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययनका क्रममा विद्यार्थी राजनीतिमा सक्रियता जनाएका थिए। सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उनी प्रमुख विद्यार्थी नेतामध्ये एक थिए।




