काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिका–२६, ठमेलमा सञ्चालित ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ तत्काल सिलबन्दी गरी बन्द गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ।

क्लिनिकविरुद्ध परेको उजुरीका आधारमा गठित छानबिन टोलीको प्रतिवेदन तथा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम निर्णय गर्दै काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

ADVERTISEMENT

काउन्सिलका अनुसार स्वीकृति नलिई गैरकानुनी रूपमा सञ्चालन गरिएको उक्त क्लिनिकलाई तत्काल सिलबन्दी गरी बन्द गराउन तथा क्लिनिकका डिजिटल र मेडिकल रेकर्ड नियन्त्रणमा लिनसमेत सिफारिस गरिएको छ।

ADVERTISEMENT

क्लिनिकमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका विषयमा समेत काउन्सिलले छुट्टाछुट्टै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। एक जना चिकित्सकले म्याद सकिएको लाइसेन्स प्रयोग गरी आफ्नो कार्यक्षेत्रबाहिर गएर उपचार गरेको पाइएपछि स्पष्टीकरण माग्दै कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

त्यस्तै, अर्का एक चिकित्सकले काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी भ्रम सिर्जना गरेको पाइएपछि उनीविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।

ADVERTISEMENT

एक जना विदेशी चिकित्सकको शैक्षिक योग्यता तथा क्लिनिकसँगको संलग्नतासम्बन्धी आधिकारिक अभिलेख र थप जाँच भइरहेको काउन्सिलले जनाएको छ। अर्का एक चिकित्सकले दाबी गरेको प्रशिक्षण प्रमाणपत्रको आधिकारिकतासमेत अध्ययन भइरहेको छ।

क्लिनिकमा दर्ता तथा इजाजतपत्रबिना कार्यरत स्वास्थ्य सहायकलगायत स्वास्थ्यकर्मीलाई कारबाहीका लागि सम्बन्धित विषयगत परिषद्मा सिफारिस गरिएको काउन्सिलले जनाएको छ।

त्यसैगरी, गैरकानुनी रूपमा सञ्चालन गरिएको भनिएको फार्मेसी तथा औषधिको स्रोतबारे विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिएको छ।

काउन्सिलले क्लिनिक सञ्चालन, चिकित्सक तथा स्वास्थ्यकर्मीको योग्यता र अनुमति, औषधिको स्रोत तथा अभिलेखलगायत विषयमा अनुसन्धान र नियामकीय कारबाहीलाई अघि बढाएको जनाएको छ।