काठमाडाैं । म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् ।
अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र बिक घाइते भएकाे जनाएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेकाे हाे। बिकलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरीले जनाएकाे छ ।
माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युतगृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।





