साङ्घाई। शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी चीनका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

मौसम पूर्वानुमान अधिकारीका अनुसार स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजे जिजियाङ प्रान्तको युहुआनमा करिब १५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी तटमा ठोक्किएको थियो। त्यसको करिब एक घण्टापछि आँधी दोस्रोपटक वेन्झाउ सहरमा पुगेको थियो।

आँधीका कारण पूर्वी चीनको यातायात सेवा व्यापक रूपमा प्रभावित भएको छ। साङ्घाईमा मात्रै १ हजार ४ सयभन्दा बढी उडान रद्द गरिएको छ।

ADVERTISEMENT

चिनियाँ अधिकारीहरूले यसअघि टाइफुन डल्फिनलाई लिएर सबैभन्दा उच्च तहको ‘रेड अलर्ट’ जारी गरेका थिए। सोमबार बिहान भने आँधीको शक्ति घट्दै गएपछि यसलाई ट्रपिकल स्टर्मका रूपमा वर्गीकरण गरिएको छ।

ADVERTISEMENT

आँधी थप भित्री भूभागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म भारी वर्षा, भीषण बाढी तथा पहिरोको जोखिम कायमै रहने चेतावनी दिएका छन्।

सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु, जिजियाङ प्रान्त तथा साङ्घाईमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

स्थानीय सरकारले सर्वसाधारणलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेको छ। खराब मौसमका कारण डिज्नील्यान्ड र लेगोल्याण्डका केही भाग तथा साङ्घाईको प्रसिद्ध ‘द बन्ड’ क्षेत्रका अवलोकनस्थललगायत प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएको छ।