काठमाडौं — सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले आठ वर्षअघि विशेष अदालतले दिएको सफाइको फैसला सदर गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुङ दम्पतीमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
विशेष अदालतले २०७४ माघ १० गते उनीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
सर्वोच्चले विशेष अदालतको फैसला सदर गर्दै गुरुङ दम्पतीलाई अन्तिम रूपमा सफाइ दिएको छ।





