चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा सोमबार बिहान खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहान ८ः३० बजे मुग्लिन नजिकै ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
पहिरो हटाउन नारायणगढतर्फबाट लोडर, स्काभेटर र ब्याकु तथा मुग्लिनतर्फबाट लोडर प्रयोग गरिएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने क्रममा बिहान ११ः१५ बजे एम्बुलेन्स र मोटरसाइकल आवतजावतका लागि सडक एकतर्फी खुलाइएको थियो।
पहिरो पूर्ण रूपमा हटाएपछि दिउँसो १ः१५ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दुईतर्फी सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जानकारी दिएको छ। वर्षायाममा पहिरोको उच्च जोखिम रहेको यस सडकखण्डमा पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ।












