काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशमा इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। खोटाङको माम्खास्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएको छ भने भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका छन्। बीपी राजमार्गमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। कान्ति लोकपथमा पनि रातिको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने रसुवाको पासाङ ल्हामु राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोरको बेलबगर खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको दार्चुलामा महाकाली राजमार्गको पनेबाँज र ऐरिछिना क्षेत्रमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।













