काठमाडौं — रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।
शनिबार रातभर किभका विभिन्न क्षेत्रमा गरिएको आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित १२५ वटा ड्रोन प्रयोग गरिएको युक्रेनी वायुसेनाले जनाएको छ।
युक्रेनी सेनाका अनुसार प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा र १०८ वटा ड्रोन खसालिएको दाबी गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्।
आक्रमणबाट आवासीय तथा व्यावसायिक भवन, सुपरमार्केट र छात्रावासमा क्षति पुगेको छ भने दमकलकर्मीहरू आगो नियन्त्रणमा जुटिरहेका छन्।
युक्रेनले रुसको अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुई गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले जवाफी रूपमा किभमा व्यापक आक्रमण गरेको बताइएको छ।






