काठमाडौं । नेपाल टेलिकमका ग्राहकले आज (१ साउन) देखि कम्पनीका सिमकार्ड तथा अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको सहकार्यअनुसार नयाँ सेवा शुक्रबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
नेपाल टेलिकम र हुलाक सेवा विभागबीच गत १८ असारमा सिमकार्ड तथा दूरसञ्चारसम्बन्धी सामग्री हुलाकमार्फत ढुवानी गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार आजदेखि सेवा सञ्चालनमा आएको हो।
सम्झौताअनुसार नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायतका सामग्री सम्बन्धित कार्यालय वा सेवाग्राहीसम्म हुलाक सेवामार्फत पुर्याइनेछ। यससँगै ग्राहकले आवश्यक सामग्रीका लागि कार्यालय धाउनुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ।
सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका थिए।
सरकारी स्वामित्वका दुई प्रमुख संस्थाबीचको यस सहकार्यले दूरसञ्चार सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउनुका साथै डिजिटल सेवा घरदैलोसम्म विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






