काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई बन्दी बनाएर चरम शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन् ।

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्वासीहरूको व्यवस्थापनमा सहयोग गर्न जाँदा नेपाल प्रहरीबाट भएको कुटपिट र बर्बर दमनविरुद्ध कानुनी कारबाही अगाडि बढाउने उनले बताएका छन् ।

ADVERTISEMENT

अस्पतालबाट डिस्चार्ज भएपछि जारी गरेको बिहीबार विज्ञप्तिमा अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन् ।

अन्सारीले बाढीपीडितको सेवामा खटिएका बेला एक गैर–निर्वाचित व्यक्तिको आदेशमा प्रहरीले आफू र आफ्ना साथीहरूलाई घेरा हालेर कुटपिट गरेको बताएका छन् । क्यामेराले नदेख्ने स्थानमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनको भनाइ छ ।

ADVERTISEMENT

उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरे । ‘मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्दसमेत लेख्न नदिने प्रयास गरियो,’ उनले भनेका छन्, ‘क्याबिनभित्र सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।’

अन्सारीले करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्र उपचार पाउने अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् । ‘बेड रेस्टकोे कारणले अझै केही दिन तपाईहरुको जिज्ञासाको जवाफ दिन असमर्थ छु । म स्वास्थ्य अवस्था सामान्य भएपछि सावर्जनिक रुपमा प्रस्तुत हुने नै छु र मसमेतको विरुद्धमा भएको प्रहरीको नियोजित घेराबन्दी सहितको चरम यातनाको विरुद्धमा कानूनी लडाई लड्ने नै छु,’ उनले भनेका छन् ।