काठमाडौं। गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ।
पीडित परिवारसँग भएको सहमतिअनुसार उक्त दिन घटनास्थलमा फिल्डमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने भएको हो।
सहमतिको तेस्रो बुँदामा छानबिन आयोगको प्रतिवेदन वा सिफारिसका आधारमा थप निर्णय हुने गरी हाललाई सम्बन्धित कर्मचारीलाई निलम्बन गर्ने उल्लेख गरिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्विललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले बिहीबार शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो।
घटनापछि प्रहरीले महानगर प्रहरीका कर्मचारी र प्रत्यक्षदर्शीलाई सोधपुछका लागि बोलाएको थियो। आवश्यक बयान र घटना विवरण संकलनपछि उनीहरूलाई छाडिएको छ।
घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।





