काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनी सेनाका दुईतारे जर्नेल हुन् ।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे ।
यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको थियो । जसमा यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्रा.डा. गिरी पनि थिए । त्यसैगरी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले पनि दरखास्त हालेका थिए ।
अन्य उम्मेदवारमा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, सह प्रा.डा. प्रमोदकुमार यादव, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधान हुन् । छनौट समितिले उनीहरुको कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सिफारिस गरिएकामध्येबाट खत्री नियुक्त भएका हुन् ।







