काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त भएका छन् । पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम साउन १ गतेदेखि लागू हुनेगरी आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । आचार्य यसअघि पनि नीति प्रतिष्ठानको कार्यकारी निर्देशक थिए ।
कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुखसमेत रहेका आचार्यसँग सञ्चार क्षेत्रमा लामो अनुभव छ । उनी राष्ट्रिय सूचना आयोगको पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्वसभापति भइसकेका छन् ।










