काठमाडौं। सार्वजनिक यातायातमा महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सातै प्रदेशमा महिलाका लागि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको हो। सोही योजनाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा आठ वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमतिका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा सञ्चालन हुने चार बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा चल्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार महिलाको सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने उद्देश्यले ‘ब्लू बस’ सेवा सञ्चालन गर्न लागिएको हो।






