काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको हो वा होइन भन्ने विषयमा यथाशीघ्र जानकारी उपलब्ध गराउन पत्राचार गरेको छ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको उल्लेख भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ADVERTISEMENT

आयोगले त्यस्तो कार्य भएको भए प्रचलित नेपाली कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम विस्तृत जानकारी मागिएको जनाएको छ।

गत साता चितवनको भरतपुरमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार पार्टीको कुल सदस्य संख्या ५ लाख २३ हजार ४५६ रहेको उल्लेख गरिएको थियो।

ADVERTISEMENT

प्रतिवेदनमा १८ देखि ४५ वर्ष उमेर समूहका ३ लाख ३५ हजार ४७८ सदस्य, १८ वर्षमुनिका ३५ हजार २५७ सदस्य, ४६ देखि ६५ वर्ष उमेर समूहका ९८ हजार ८५७ सदस्य, ६५ वर्षभन्दा माथिका १३ हजार ६८२ सदस्य तथा उमेर नखुलेका ४० हजार १९१ सदस्य रहेको विवरण सार्वजनिक गरिएको थियो।

१८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिएको भन्ने विवरण सञ्चारमाध्यममा सार्वजनिक भएपछि आयोगले त्यसबारे रास्वपासँग औपचारिक रूपमा स्पष्टीकरण मागेको हो।