काठमाडौँ। भारतको कोटक महिन्द्रा बैंक लिमिटेड ले ड्युश बैंक को भारतस्थित रिटेल बैंकिङ, प्राइभेट बैंकिङ तथा वेल्थ म्यानेजमेन्ट व्यवसाय करिब २८१.७ करोड भारतीय रुपैयाँमा खरिद गर्ने भएको छखरिद गर्ने भएको छ। दुवै बैंकले यस सम्बन्धमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेको गरेका छन्।
सम्झौताअनुसार कोटाकले किन्ने व्यवसायअन्तर्गत करिब २९ हजार करोड भारतीय रुपैयाँ बराबरको लोन पोर्टफोलियो, १६ हजार करोड रुपैयाँ बराबरको निक्षेप तथा १० हजार ५०० करोड रुपैयाँ बराबरको सम्पति व्यवस्थापन समावेश छन्। यस व्यवसायमा हाल करिब १ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान भइरहेको छ भने करिब १ हजार कर्मचारी कार्यरत छन्।
कोटक महिन्द्रा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अशोक वासवानीले यो सम्झौता बैंकको उच्च आय भएका ग्राहक र साना तथा मझौला उद्यम केन्द्रित रणनीतिसँग मेल खाने बताएका छन्। उनका अनुसार यसले बैंकको ग्राहक आधार विस्तार गर्नुका साथै अनुभवी कर्मचारी र कोटाकलाई नयाँ व्यावसायिक अवसरसमेत दिनेछ।
यता, ड्युश बैंक समूह भारत तथा इमर्जिङ एसियाका प्रमुख कार्यकारी अधिकृत कौशिक शापरियाले यो निर्णयले बैंकको व्यवसायलाई थप केन्द्रित र प्रतिस्पर्धी बनाउने रणनीतिक कदम भएको बताएका छन्। उनले भारत ड्युश बैंकका लागि महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै भविष्यमा कर्पोरेट बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ तथा अन्य मुख्य व्यवसायमा अझ बढी ध्यान केन्द्रित गरिने बताए।
दुवै बैंकले ग्राहकलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी सम्पूर्ण हस्तान्तरण प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। यस सम्झौताअन्तर्गत ड्युश बैंकका करिब १ हजार कर्मचारी पनि कोटक महिन्द्रा बैंकमा आबद्ध हुने अपेक्षा गरिएको छ।
आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि ग्राहक, कर्मचारी तथा सम्बन्धित सामग्रीहरु हस्तान्तरणसहित सम्पूर्ण प्रक्रिया सेप्टेम्बर २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको दुवै बैंकले बताएका छन्।
कोटक महिन्द्रा बैंकका अनुसार यो अधिग्रहण बैंकको रणनीतिक विस्तार अन्तर्गत गरिएको महत्त्वपूर्ण कदम हो भने ड्युश बैंकले यसलाई आफ्नो ‘ग्लोबल हाउसबैंक’ रणनीतिअनुसार व्यवसायलाई थप सरल र प्रभावकारी बनाउने योजनाको एउटा पक्ष भएको जनाएको छ।





