काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई पक्राउ गरेको छ।
ब्यूरोले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला काठमाडौं महानगरपालिका, ६ निवासी तथा चारित्रिक बिल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसूर मुद्दामा कार्कीले चारित्रिक बिल्डर्स प्रालिको नाममा बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण कार्यका लागि कृत्रिम परियोजना खडा गरेको आरोप थियो। उक्त परियोजनाका आधारमा क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर कर्जा स्वीकृत गराएको र प्राप्त कर्जा रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरेको अभियोग उनीमाथि लागेको थियो।
उक्त मुद्दामा साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीलाई तीन वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेको अवस्थामा उनी फरार रहँदै आएकी थिइन्।
सीआईबीको टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।





