काठमाडौँ। भारतले जुन २२ र २३ मा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्ने भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्नेछन्।
बैठकमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वले सामना गरिरहेका परम्परागत सुरक्षा चुनौती, उदीयमान सुरक्षा खतरा तथा ती चुनौतीहरूमा नयाँ प्रविधिको बढ्दो भूमिकाबारे विचार आदानप्रदान गर्नेछन्।
सहभागीहरूले आतंकवादविरुद्धको सहकार्य, साइबर सुरक्षा तथा सूचना–सञ्चार प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहका उपलब्धि र निष्कर्षहरूको पनि समीक्षा गर्ने कार्यक्रम छ।
भारतले यसअघि सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरिसकेको छ भने सन् २०२६ मा चौथोपटक अध्यक्षता गरिरहेको छ। यस वर्षको अध्यक्षताको मूल विषय “उद्धारता, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण” रहेको भारतले जनाएको छ। यो विषयवस्तुले रियो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको जन–केन्द्रित तथा मानवता–मुखी दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताइएको छ।
ब्रिक्समा हाल ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेट्स सदस्य छन्। विश्वका प्रमुख उदीयमान अर्थतन्त्र र विकासोन्मुख राष्ट्रहरूको यो समूहले राजनीति, सुरक्षा, अर्थतन्त्र, व्यापार, जलवायु परिवर्तन, खाद्य तथा ऊर्जा सुरक्षा, कृषि, श्रम, दूरसञ्चार र अन्तर्राष्ट्रिय वित्तीय संरचनासम्बन्धी विषयमा सहकार्य गर्दै आएको छ।
ब्रिक्स २०२६ को आधिकारिक एजेन्डाअनुसार संगठनको कार्यक्षेत्र आर्थिक सहकार्यबाट विस्तार हुँदै सुरक्षा, राजनीतिक समन्वय तथा जनता–जनता सम्बन्ध सुदृढ गर्ने दिशामा केन्द्रित रहेको छ।






