काठमाडौं । मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा दुई करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई चार लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमतिअनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

साहले भने ‘शीला रेस्टुरेन्ट खरिदपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन्। उनले २५ लाख रुपैयाँको चेकको रकम भुक्तानी गरिसकेको र अहिलेको विवाद चार लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताए।
साहले पक्राउ प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र आफूलाई फ्रेम गरिएको भन्दै असन्तुष्टि जनाउँदै भिडियो क्लिपलाई लिएर आपत्ति जनाएका छन्।
उनले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको दाबी गरे।







