काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ।

बैंकले जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा शिविर आयोजना गरेको थियो। शिविरमा कुल ७११ जनाले निःशुल्क आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।

ADVERTISEMENT

जिल्ला अस्पताल खलङ्गामा सञ्चालित शिविरमा ३८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३२४ जनाको आँखा परीक्षण गरिएको बैंकले जनाएको छ। शिविरमा गेटा आँखा अस्पताल, धनगढीका नेत्र चिकित्सकसहितको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो।

आँखा परीक्षणका क्रममा आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो। साथै मोतियाबिन्दुको शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था पनि बैंकले गर्ने जनाएको छ।

ADVERTISEMENT

शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।