काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा दाबी भुक्तानीअन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ सरकार गठनपछि मन्त्री निशा मेहताले जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो।
यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो भुक्तानी प्रक्रियासँगै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमशः फर्छ्योट हुने अपेक्षा गरिएको छ।
सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।






