काठमाडौं। बैंकिङ प्रणालीमा अतिरिक्त तरलता थुप्रिने क्रम तीव्र बन्दै जाँदा नेपाल राष्ट्र बैंकमाथि तरलता सोस्ने दबाब झन् बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा केन्द्रीय बैंकले ३७ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी बराबरको खुद तरलता प्रशोचन गर्नुपरेको तथ्यांकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोल, स्थायी निक्षेप सुविधा तथा राष्ट्र बैंक ऋणपत्रमार्फत कुल ३७ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ मात्र थियो। एक वर्षमै तरलता प्रशोचनको परिमाण झण्डै दोब्बर हुनु राष्ट्र बैंकमाथि तरलता व्यवस्थापनको दबाब बढेको संकेतका रूपमा हेरिएको छ।

ADVERTISEMENT

विशेषगरी रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धि, विदेशी मुद्रा सञ्चितिको विस्तार र अपेक्षाअनुसार कर्जा विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा नगद थुप्रिएको छ। यही अतिरिक्त रकम बजारमा अत्यधिक फैलिन नदिन राष्ट्र बैंकले निरन्तर रूपमा पैसा तान्नुपरेको अवस्था देखिएको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट ६ अर्ब ५२ करोड अमेरिकी डलर खुद खरिद गरी ९४६ अर्ब २६ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५६४ अर्ब ११ करोड रुपैयाँ मात्र प्रवाह गरिएको थियो। विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाली रुपैयाँको आपूर्ति पनि बढेको र त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले थप प्रशोचन गर्नुपरेको देखिन्छ।

ADVERTISEMENT

तरलता सोस्ने दबाब बढिरहेको अर्को संकेत अन्तरबैंक बजारबाट पनि देखिएको छ। चालु आर्थिक वर्षको दश महिनामा अन्तरबैंक कारोबार ९७९ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो १,६२० अर्ब ५४ करोड रुपैयाँ थियो। बैंकहरूसँग पर्याप्त नगद उपलब्ध हुँदा एकअर्काबाट सापटी लिनुपर्ने आवश्यकता घटेको देखिन्छ।

अतिरिक्त तरलताकै प्रभावका रूपमा अन्तरबैंक ब्याजदर पनि घटेको छ। २०८२ वैशाखमा ३ प्रतिशत रहेको भारित औसत अन्तरबैंक दर २०८३ वैशाखमा २.७५ प्रतिशतमा झरेको छ।

बैंकहरूको आधारदर र ब्याजदरमा समेत निरन्तर गिरावट देखिएको छ। वाणिज्य बैंकहरूको औसत आधारदर एक वर्षमा ६.१७ प्रतिशतबाट ४.९७ प्रतिशतमा झरेको छ। निक्षेपको औसत ब्याजदर ४.३७ प्रतिशतबाट ३.३५ प्रतिशतमा र कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतबाट ६.७३ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

अर्थविद्हरूका अनुसार रेमिट्यान्सको उच्च प्रवाह, विदेशी मुद्रा सञ्चितिमा वृद्धि र निजी क्षेत्रतर्फ कर्जा विस्तारको सुस्त गतिले बैंकिङ प्रणालीमा अतिरिक्त तरलता सिर्जना गरेको छ। यही कारण राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा धेरै ठूलो परिमाणमा तरलता प्रशोचन गर्नुपरेको हो।

यद्यपि तथ्यांकले राष्ट्र बैंक तरलता सोस्न असफल भएको नभई, तरलता व्यवस्थापनका लागि उसमाथि दबाब उल्लेखनीय रूपमा बढेको देखाउँछ। रेमिट्यान्स उच्च दरमा बढिरहने र कर्जा माग कमजोर रहने अवस्था कायम रहेमा आगामी महिनाहरूमा पनि केन्द्रीय बैंकले बजारबाट ठूलो परिमाणमा रकम तानिरहनुपर्ने अवस्था रहने विश्लेषण गरिएको छ।