काठमाडौं । नेपाली मौलिक हस्तकला, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।

चौधरी फाउण्डेशनअन्तर्गत सञ्चालित उन्नतिले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ। यसैक्रममा चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका प्रतिनिधि किरण एन्डीकोटबीच साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता हस्ताक्षर कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्नु तथा ती उत्पादनलाई मेरियट र यससँग आबद्ध होटलहरूमा प्रदर्शन तथा प्रयोग गर्ने सम्भावना विस्तार गर्नु रहेको छ।
सम्झौताअन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्रान्ड ‘सिया’ मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास, छनोट, ब्रान्डिङ, कथा प्रस्तुतीकरण (स्टोरीटेलिङ) तथा प्रभाव मूल्याङ्कन गर्नेछ। साथै, महिला नेतृत्वमा सञ्चालित उद्यम र हस्तकला उत्पादकहरूको पहिचान तथा प्रवर्द्धनमा समेत भूमिका खेल्नेछ।
यस्तै, मेरियटले आफ्ना होटलहरूलाई आवश्यक उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्ने, छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवर्द्धन गर्ने सम्भावनाको खोजी गर्ने तथा होटल सञ्चालन सामग्रीमा समावेश गर्ने विषयमा सहजीकरण गर्ने जनाएको छ।
सम्झौतापछि बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै यस सहकार्यले विशेषगरी महिला उद्यमी र स्थानीय उत्पादकलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यवसायिक अभ्यासलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादकलाई सशक्त बनाउने र नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









