काठमाडौं । ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटको छनोट प्रतियोगितामा मलेसियालाई २७५ रनको लक्ष्य दिएको छ ।
सिंगापुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको छ ।
कुशलले ५४ बलमा १४ चौका र आठ छक्काको सहयोगमा सर्वाधिक १२६ रनको शतकीय इनिङ खेले । कुशलको टी २० अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । कुशलले यसअघि भएको चीनसँगको खेलमा शतक बनाएका थिए । कुशलको टी २० अन्तर्राष्ट्रिय लगातार दोस्रो र समग्रमा तेस्रो शतक हो । उनले आफ्नो ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक ४४ बलमा पूरा गरेका थिए ।
अर्का ओपनर आसिफ शेखले २४ बलमा पाँच चौका र सात छक्काको सहयोगमा ६८ रनको इनिङ खेले । पहिलो विकेटका लागि आसिफ र कुशलले १३४ रनको साझेदारी गरेका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा एक चौका र चार छक्काको सहयोगमा ३१ रन बनाए । सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रन जोडे । मलेसियाका लागि विरनदिप सिंहले तीन, विजय उन्नी र सइद अजिजले समान एक विकेट लिए ।








