ललितपुर । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ । यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।
यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुरलगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।
सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो, जहाँ नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थाहरू, व्यवसायिक समुदाय तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने- ‘फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनलको एकीकरण हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो, र यसको प्रयोगकर्ताहरूले अब सिधै हाम्रो क्यूआर पूर्वाधारमार्फत कारोबार गर्न सक्नु नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यको रूपमा स्थापित गर्ने कदम हो।’
युनियनपे इन्टरनेशनलका उपाध्यक्ष झाङ बेइले भने- ‘युनियनपे इन्टरनेसनल विश्वभरका आफ्ना कार्डधारक तथा एप प्रयोगकर्ताहरूका लागि यात्रा र व्यापारलाई सहज बनाउने प्रतिबद्धतामा केन्द्रित छ। सशक्त पर्यटन अर्थतन्त्र र दक्षिण एसियाकै विकसित क्यूआर मर्चेन्ट नेटवर्कमध्ये एक भएको नेपाल हाम्रो इकोसिस्टमका लागि उत्कृष्ट अवसर हो। फोनपेसँगको सहकार्यमार्फत युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टहरूमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्।
नेपालको पर्यटन अर्थतन्त्रका लागि गेम चेन्जर
नेपालले सन् २०२५ मा ११.५ लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गरेको थियो, जसमा चीनको मुख्यभूमि, हङकङ सार तथा एसियाका अन्य युनियनपे(प्रमुख बजारहरूबाट आउने पर्यटकहरूको उल्लेख्य हिस्सा रहेको थियो। यसअघि यी पर्यटकहरूले आफ्ना प्राथमिक डिजिटल भुक्तानी माध्यमहरू सीमित रूपमा मात्र उपलब्ध भएकाले नगदमा बढी निर्भर रहनुपर्थ्यो। अब यो एकीकरणसँगै उक्त समस्या पूर्ण रूपमा समाधान भएको छ।
फोनपे क्यूआरमार्फत डिजिटल भुक्तानी स्वीकार गर्ने सबै मर्चेन्टहरूले अब अन्तर्राष्ट्रिय ग्राहकहरूबाट युनियनपे एप प्रयोग गरी सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्। यस सहकार्यले मर्चेन्टहरूको आम्दानी सम्भावना बढाउनुका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग हुने कारोबारमा देखिने अवरोध कम गर्ने अपेक्षा गरिएको छ।
युनियनपेसँगको यो सहकार्यले फोनपेलाई नेपालको सबैभन्दा अन्तर्राष्ट्रिय रूपमा जोडिएको पेमेन्ट नेटवर्कको रूपमा अझ मजबुत बनाएको छ। फोनपेले हाल अलिपें, भारतको ग्एक्ष् लगायत दक्षिण एसिया तथा ब्क्भ्ब्ल् क्षेत्रका विभिन्न नेटवर्कहरूसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका वालेट तथा पेमेन्ट प्रणालीहरूसँग आफ्नो पहुँच विस्तार गरिसकेको छ। फोनपेले सीमा(पार भुक्तानी अन्तरसञ्चालन सम्भव बनाउन आवश्यक नियामकीय संरचना निर्माणमा सहयोग पुर्याएकोमा नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ।
फोनपे नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर हो, जसले अन्तरबैंक व्यक्ति-देखि-व्यक्ति तथा व्यक्ति-देखि-मर्चेन्ट कारोबारलाई आफ्नो अन्तरसञ्चालित नेटवर्क तथा मोबाइल प्लेटफर्ममार्फत सहज बनाउँदै आएको छ। फोनपे, मोबाइल पेमेन्ट नेटवर्कमध्ये नेपाल राष्ट्र बैंकबाट पीएसओ इजाजत प्राप्त गर्ने पहिलो संस्था हो। साथै पीसीआइ डीएसएस सर्टिफिकेसन प्राप्त गर्ने नेपालको पहिलो गैरकार्ड आधारित पीएसओ पनि हो। फोनपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकहरूलाई सेवा प्रदान गर्दै नेपालकै सबैभन्दा ठूलो क्यूआर मर्चेन्ट नेटवर्क सञ्चालन गरिरहेको छ, जसमा २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टहरू आबद्ध छन्।
युनियनपे इन्टरनेसनल विश्वभर युनियनपे ब्रान्ड तथा व्यवसायको पहुँच विस्तार गर्ने उद्देश्यसहित कार्यरत संस्था हो। युनियनपेले विश्वकै ठूलो कार्डधारक आधारमध्ये एकलाई सुरक्षित, भरपर्दो तथा किफायती सीमापार भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ, साथै विश्वभर रहेका आफ्ना कार्डधारक तथा एप प्रयोगकर्ताहरूलाई सहज स्थानीय सेवा सुनिश्चित गर्दै आएको छ।
हालसम्म युनियनपेले १८३ देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने ८५ देश तथा क्षेत्रहरूमा कार्ड जारी गर्ने कार्य सञ्चालन भइरहेको छ। नेपालमा युनियनपेले सबै वाणिज्य र विकास बैंकहरू साथै सबै इजाजतप्राप्त पीएसओ तथा पीएसपीहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष साझेदारी विकास गरेको छ। नेपालमा युनियनपे इकोसिस्टमअन्तर्गत भौतिक तथा भर्चुअल कार्ड गरी १ करोडभन्दा बढी कार्ड जारी भइसकेका छन् ।






