काठमाडौं। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा बेहोस भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्थामा सुधार आएको छ। उपचारका लागि काठमाडौं ल्याइएका सबै ६ जना जवानको होस खुलेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनीहरूको उपचारमा विशेषज्ञ चिकित्सकहरूको टोली निरन्तर खटिएको छ। स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइरहेका छन्।
शुक्रबार तालिमका क्रममा एक्कासी आठ जना प्रशिक्षार्थी जवान बेहोस भएका थिए। तीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौंस्थित एपीएफ अस्पताल ल्याइएको थियो भने अन्यको स्थानीय स्तरमै उपचार गरिएको बताइएको छ।
बेहोस हुने प्रशिक्षार्थीहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
यसैबीच, पूर्व गृहमन्त्री सुदन गुरुङ तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौड्यालले बलम्बुस्थित एपीएफ अस्पताल पुगेर उपचाररत जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूले चिकित्सकहरूसँग छलफल गर्दै प्रभावकारी उपचार र आवश्यक सहयोगका लागि चासो व्यक्त गरेका थिए।








