काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा प्रकाश खड्का नामका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।
कार्यालयले कानुन तथा प्रशासनिक प्रक्रियाअनुसार काम गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास सिर्जना गर्ने तथा दबाब दिने गतिविधि निन्दनीय रहेको जनाएको छ। विज्ञप्तिमा प्रधानमन्त्री सुशासन, विधिको शासन र कर्मचारीको सुरक्षा तथा मनोबलका पक्षमा रहेको उल्लेख गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास भएमा त्यसमा नपर्न सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरिएको छ।
कार्यालयले यस्ता शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्र प्रक्रिया अघि बढाउन सरकारी निकाय तथा कर्मचारीलाई निर्देशन दिएको छ।





