काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) को कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ ।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ढकाललाई सञ्चालक समितिको बुधबारकाे बैठकले कामु सीईओमा नियुक्त गरेको हो ।
बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे सिआइबीको हिरासतमा रहेकाले ढकाललाई बैंकको कामु सिइओको जिम्मेवारी दिइएको हो । पाण्डे हाल स्मार्ट टेलिकम प्रालिसम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा छन् ।
पाण्डेमाथि अनुसन्धान प्रक्रिया जारी रहेको र बैंकको कार्यसम्पादनमा बाधा भएपछि ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको जनाइएको छ । बैंकले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्रमार्फत गराएको छ ।









