पर्सा। दानबहादुर कार्की ले नेपाल प्रहरी संगठनलाई प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।जिल्ला प्रहरी कार्यालय पर्सा को प्राङ्गणमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले प्रहरी संगठन नागरिकको भरोसाको संस्था भएकाले यसलाई अझ सुदृढ बनाइने बताए।

महानिरीक्षक कार्कीले वर्तमान अवस्थामा शान्ति–सुरक्षा कायम गर्नु मात्र नभई नागरिकलाई सहज, सरल तथा प्रभावकारी सेवा प्रदान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गरे।उनका अनुसार प्रहरी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउन देशभरका युनिट प्रमुखलाई स्पष्ट निर्देशन दिइएको छ। सो निर्देशनअनुसार कार्यान्वयन भए अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न थप सहज हुने उनको भनाइ छ।

नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई विस्तार गर्दै सेवा प्रवाहलाई आधुनिक बनाइरहेको उल्लेख गर्दै उनले डिजिटल प्रणालीमार्फत उजुरी दर्ता, अपराध अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाइँदै लगिएको जानकारी दिए।

महानिरीक्षक कार्कीले साइबर अपराध, लागूऔषध कारोबार, सङ्गठित अपराध तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि अहिले प्रहरीका प्रमुख चुनौतीका रूपमा रहेको बताए। यस्ता गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।

जनतामाझ नेपाल प्रहरीप्रति विश्वास बढाउनु वर्तमान प्राथमिकता रहेको उल्लेख गर्दै उनले सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, गैरजिम्मेवार वा अनुशासनहीन कार्य गर्ने कर्मचारीलाई कुनै छुट नहुने चेतावनीसमेत दिएका छन्।