काठमाडौँ । सरकारले तीन सदस्यीय एक व्यापार विज्ञ समूह गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुमार कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड विज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको हो ।
विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको छ ।
यसै सन्दर्भमा तीनजना अनुभवी निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । उक्त बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान गर्ने, समाधान सुझाउने र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मुद्दामा मार्गदर्शन दिने जिम्मेवारी लिन्छ ।
नियुक्त भएका सदस्यहरूबाट मन्त्रालयले व्यापार क्षेत्रका विविध मुद्दामा गहकिला सुझाव र सशक्त सहभागिताको अपेक्षा राखेको छ ।







