इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ।
जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गर्दै आएको जग्गा दर्ता गर्ने निर्णय गरिएको हो। यसअन्तर्गत ५९३ कित्ताको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको उनले बताए।
आयोगका अनुसार प्रमाणपत्र वितरण तथा जग्गा दर्ता प्रक्रियाबाट हालसम्म एक करोड ८६ लाख ३१ हजार ४ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले जानकारी दिए।
पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १ सय ७४ निवेदन सङ्कलन गरिएको थियो। तीमध्ये भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ तथा अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९ सय १० निवेदन परेका थिए।
आयोगका अनुसार हाल एक हजार ९ सय २६ निवेदन प्रमाणीकरण प्रक्रियामा रहेका छन्।








