काठमाडौं, नेपालमा पहिलो पटक JCI South Asia Business & Investment Meet 2025 आयोजना हुने भएको छ। जेसीआई नेपालको आयोजनामा यहि साउन १८ गते (अगस्ट ३, २०२५) काठमाडौंको थमेलस्थित होटल अलोफ्टमा हुने यो सम्मेलनले दक्षिण एशियाली व्यापार, लगानी र स्टार्टअप क्षेत्रका सम्भावनाहरूलाई उजागर गर्दै साझा सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताइएको छ।
कार्यक्रमको मूल उद्देश्य भनेको नेपालसहित दक्षिण एशियाली देशहरूका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू तथा नवप्रवर्तनशील स्टार्टअपबीच प्रत्यक्ष नेटवर्किङको अवसर प्रदान गर्नु, सम्भावित लगानीका क्षेत्र पहिचान गर्नु, र दिगो आर्थिक विकासमा सहकार्यका माध्यमबाट योगदान दिनु रहेको छ। यस कार्यक्रममा दक्षिण एशियाका व्यवसायिक व्यक्तित्वबीच प्रत्यक्ष संवाद हुनेछ भने लगानीकर्तासँग पिचिङ सेसनमार्फत स्टार्टअपले आफ्ना योजनाहरू प्रस्तुत गर्न सक्ने जनाइएको छ। 
त्यस्तै, क्षेत्रीय विषयमा आधारित विशेष संवाद तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, नेपाली तथा दक्षिण एशियाली स्टार्टअप र नवप्रवर्तनशील विचारहरूको प्रदर्शनी पनि कार्यक्रमको महत्वपूर्ण भाग हुनेछ। “JCI in Business (JIB)” शीर्षकमा आयोजित यो कार्यक्रममार्फत JCI ले “सकारात्मक परिवर्तनका लागि युवालाई सशक्त बनाउने” बताएको छ।
कार्यक्रममा नेपालभित्रका मात्र नभई अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक तथा लगानी क्षेत्रका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। यस सम्मेलनलाई नेपालमा व्यवसायिक वातावरण सुदृढ गर्दै विदेशी लगानीको ढोका खोल्ने जनाइएको छ ।






