काठमाडौँ । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ श्रेणीमा पर्छ।

केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ हाल सुधार हुँदै ६६औँ स्थानमा पुगेको छ। एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

ADVERTISEMENT

गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। त्यसबेला प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी जोखिम बढेको थियो।

वातावरण विभागका अनुसार लामो समय वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिन्छ। वन डढेलो, सुक्खा मौसम र छिमेकी देशबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तर बिगार्ने गरेको छ।

ADVERTISEMENT

वर्षासँगै धुलो–धुवाँ पखालिने र हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तर सुधार भएको देखिएको छ। दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रणका उपाय आवश्यक रहेको उल्लेख गरिएको छ।