काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधान गर्दै पार्टी एकतालाई थप मजबुत बनाउन शीर्ष नेताहरूबीच संवादलाई तीव्रता दिइएको छ। यही क्रममा बुधबार बिहान सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

खड्काको गल्फुटारस्थित निवासमा भएको भेटमा पार्टीको वर्तमान अवस्था, संगठनात्मक एकता तथा आगामी रणनीतिका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

ADVERTISEMENT

गत वैशाख ४ गते सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि पार्टीभित्रको राजनीतिक समीकरणलाई सन्तुलित बनाउने प्रयासस्वरूप सभापति थापाले शीर्ष नेताहरूसँग भेटघाटलाई निरन्तरता दिएका छन्।

ADVERTISEMENT

यसक्रममा थापाले वैशाख ६ गते पूर्णबहादुर खड्कासँग पहिलो चरणको छलफल गरेका थिए भने वैशाख १५ गते नेता रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए। मंगलबार मात्रै उनले विशालनगरस्थित सम्पर्क कार्यालयमा नेता डा. शेखर कोइरालासँग करिब एक घण्टा छलफल गरेका थिए।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र विभिन्न धारमा विभाजित देखिएका नेता तथा कार्यकर्तालाई साझा धारमा ल्याउने उद्देश्यले सभापति थापाले संवादलाई प्राथमिकता दिएको जनाइएको छ।

ADVERTISEMENT

सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूसँग समेत सहकार्य र समन्वयको वातावरण बनाउन आफू सक्रिय रहेको सन्देश दिँदै आएका छन्। पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाएर आगामी राजनीतिक चुनौती सामना गर्न एकता अपरिहार्य रहेको उनको धारणा छ।

कांग्रेसभित्र पछिल्ला दिनमा भएका यी निरन्तर संवाद र भेटवार्तालाई पार्टीभित्रको ध्रुवीकरण अन्त्य गर्दै साझा समझदारी निर्माण गर्ने प्रयास भईरहेको छ ।