काठमाडौं।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय सञ्चालन तथा शैक्षिक वातावरण सुधारका लागि ८ लाख २१ हजार २५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालयमा पठन–पाठनलाई अझ सहज, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन आवश्यक फर्निचर तथा अन्य शैक्षिक सामग्री खरिद गर्ने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता सहयोग गर्दै आएको बताएको छ।
शुक्रबार बुढानिलकण्ठस्थित बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी संचालक समितिकी अध्यक्ष सम्झना अर्यालले विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद भट्टलाई ८ लाख २१ हजार २५० रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।
चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूलाई सहयोग गर्न पाउँदा कम्पनीलाई खुसी लाग्ने उल्लेख गरिन्। उनले शिक्षा क्षेत्र दीर्घकालीन विकासको आधार भएकाले कम्पनीले अति आवश्यक क्षेत्र पहिचान गरी निरन्तर सहयोग गर्दै आएको बताइन्। साथै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
विद्यालयका प्रधानाध्यापक भट्टले उक्त सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुधारमा प्रत्यक्ष योगदान पुग्ने बताउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सप्रति धन्यवाद व्यक्त गरे। उनले फर्निचर सामग्री खरिदपछि विद्यार्थीहरूको सिकाइ वातावरण अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा कम्पनीका संचालक समिति सदस्यहरू भावना बलायर र विरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत, ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरे तथा विद्यालयतर्फबाट सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
कम्पनीले शिक्षा क्षेत्रमा गरिने यस्ता सहयोगलाई दीर्घकालीन सामाजिक लगानीको रूपमा लिँदै भविष्यमा पनि समुदायसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारेको छ।







