काठमाडौं । युक्रेनरुसबीच जारी द्वन्द्वका क्रममा दक्षिणी रुसी शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणपछि गम्भीर वातावरणीय असर देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनले सोमबार ब्ल्याक सी क्षेत्रको उक्त प्रशोधन केन्द्रमा आक्रमण गरेपछि चारवटा भण्डारण ट्याङ्कीमा भीषण आगलागी भएको थियो, जुन बिहीबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

आगलागीका कारण शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको छ भने वातावरणमा विषाक्त कणहरूको मात्रा अत्यधिक बढेको अधिकारीहरूले जनाएका छन्। वायु प्रदूषणको स्तर सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको बताइएको छ।

यस घटनापछि बुधबारदेखि तुआप्से क्षेत्रमा ‘विषाक्त वर्षा’ भएको दाबी गरिएको छ। वर्षासँगै सतहमा कालो पदार्थ जमेको देखिएको छ, जसले वातावरणीय जोखिम थप बढाएको छ। स्थानीयवासीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा समुद्र किनारमा तेल फैलिएको, मरेका माछा तथा चराचुरुङ्गी देखिएको दाबी गरिएको छ, यद्यपि ती तस्बिरहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

शहर प्रशासनले स्थानीय बासिन्दालाई झ्याल ढोका बन्द गरेर घरभित्रै बस्न, बाहिरी गतिविधि सीमित गर्न तथा अत्यावश्यक अवस्थामा मात्रै मास्क प्रयोग गरेर बाहिर निस्कन आग्रह गरेको छ।

ब्ल्याक सी क्षेत्रमा पर्ने तुआप्से ऊर्जा पूर्वाधारका दृष्टिले महत्वपूर्ण शहर मानिन्छ। पछिल्ला हप्ताहरूमा युक्रेनले रुसको ऊर्जा निर्यात संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र पारेको छ। विश्लेषकहरूका अनुसार यस्तो आक्रमणले रुसको सैन्य खर्चका लागि प्रमुख स्रोत मानिने तेल निर्यातमा असर पार्ने उद्देश्य युक्रेनले राखेको देखिन्छ।

यस घटनाले द्वन्द्वको प्रभाव युद्धक्षेत्रभन्दा बाहिर वातावरणीय र जनस्वास्थ्य क्षेत्रमा समेत गहिरिँदै गएको संकेत दिएको छ।