काठमाडौं । यो वर्ष चाँदीको मूल्य करिब चार गुणा बढेको छ। २०८१ चैत मसान्तमा प्रतितोला १,९६० रुपैयाँ रहेको चाँदी २०८२ चैत मसान्तसम्म ४,९०० रुपैयाँ पुगेको हो।
मूल्य बढे पनि चाँदीमा लगानीकर्ताको आकर्षण भने झन् बढेको देखिएको छ। भन्सार तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा करिब ३० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो। यस वर्ष परिमाण र मूल्य दुवै हिसाबले आयात साढे चार गुणाभन्दा बढी बढेको छ।
व्यवसायीका अनुसार सुरुमा बजारमा चाँदीको अभाव देखिए पनि पछि ठूलो मात्रामा आयात भएपछि आपूर्ति सामान्य बनेको छ। चाँदीमा लगानी बढ्नुको मुख्य कारण सुनको तुलनामा सर्वसाधारणले सहजै कारोबार गर्न पाउनु भएको व्यवसायीहरूको भनाइ छ। सुनको कारोबारमा कडाइ भए पनि चाँदीमा त्यस्तो प्रतिबन्ध नभएकाले आम लगानीकर्ता यसतर्फ आकर्षित भएका छन्।
हाल चाँदीको प्रयोग गहना मात्र नभई लगानीका रूपमा बढी भइरहेको छ। विश्व बजारमा औद्योगिक माग पनि बढेकाले यसको मूल्यमा चाप परेको व्यवसायी बताउँछन्।
पछिल्ला महिनामा मूल्यमा उतारचढाव भए पनि चाँदीको बजारमा दीर्घकालीन वृद्धि हुने अपेक्षा लगानीकर्तामा देखिएको छ।







