बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको छ। ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन तथा वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित उत्सव सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बीच उत्सवको उद्घाटन गरेका छन्। सो अवसरमा गोर्खाबाट पैदलयात्रा गर्दै बुटवल आइपुगेको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो।
उत्सवका क्रममा विभिन्न संघसंस्थाले आ–आफ्ना झाँकी प्रस्तुत गरेका थिए भने नेपाली सेनाले आकर्षक प्रदर्शन गरेको थियो। स्थानीय बासिन्दा र दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा देशभक्ति र ऐतिहासिक गौरव झल्किने गतिविधिहरू प्रस्तुत गरिएको थियो।
वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो। युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा हासिल गरिएको उक्त विजयले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाएको इतिहासमा उल्लेख छ।
बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको उक्त युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए। इतिहासविद्का अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए।
चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित जीतगढी किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ। अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकारहरू बताउँछन्।








