काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार तथा आवागमन सहज बनाउन विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले अप्रिल ३ देखि ५ तारिखसम्म विभिन्न गन्तव्यमा विशेष उडान तालिका सार्वजनिक गरेको हो।
निगमका अनुसार ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान सञ्चालन गरिनेछ। ती उडानमार्फत विदेशमा अड्किएका नेपालीलाई स्वदेश फर्काउने र गन्तव्य मुलुक पुग्न नपाएका यात्रुलाई सहजीकरण गर्ने लक्ष्य राखिएको छ।
पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चुनौतीका कारण नियमित उडानहरू गत फेब्रुअरी अन्त्यदेखि प्रभावित हुँदै आएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले वैकल्पिक रूपमा विशेष उडानको व्यवस्था मिलाएको हो।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाको पहलमा परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच समन्वय बैठक बसेको थियो। उक्त बैठकले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।
विशेष उडानका क्रममा आवश्यक बीमा व्यवस्थापनमा राष्ट्रिय बीमा कम्पनीले सहजीकरण गरेको जनाइएको छ। परराष्ट्र मन्त्रालयले चुनौतीपूर्ण अवस्थामासमेत उडान सञ्चालनमा सहयोग गर्ने सबै सरोकारवाला निकायलाई आभार व्यक्त गरेको छ।





