काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी गम्भीर अभियोग लगाउँदै पक्राउ गरेको छ। उनीहरूलाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ कसुरअन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
केही दिनअघि सार्वजनिक भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा उच्च राजनीतिक नेतृत्वको लापरवाही रहेको निष्कर्ष निकालेको थियो। सोही निष्कर्षलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही हुन सक्ने उल्लेख गरिएको छ।
प्रहरीले मुलुकी अपराध संहिताका सम्बन्धित दफाहरू उद्धृत गर्दै हेलचेक्र्याइँका कारण ज्यान गुमेको अवस्थामा कानुनी कारबाही हुने व्यवस्था रहेको बताएको छ। उक्त कसुरमा दोषी ठहर भएमा कैद तथा जरिवानासहित सजाय हुन सक्ने प्रावधान छ।
नयाँ सरकार गठनपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो प्रक्रिया अघि बढाइएको हो।





