काठमाडौं। पूर्वप्रधानमन्त्री केपी ओलीलाई प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा ल्याएको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट आज बिहानै नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते भएको हिंसात्मक घटनामा १९ जनाको ज्यान गएको विषयमा अनुसन्धान गर्न ओलीलाई पक्राउ गरिएको हो। सोही घटनामा संलग्नताको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि आजै बिहान भक्तपुरबाट पक्राउ गरिएको छ।
पक्राउ गर्न प्रहरी पुगेपछि ओलीले आफ्ना कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए। उनले आफूविरुद्धको कदम “प्रतिशोधपूर्ण” भएको दाबी गर्दै कानुनी रूपमा सामना गर्ने बताएका छन्। परामर्शका क्रममा उनले वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेको स्रोतले जनाएको छ।
घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि लापरबाहीका कारण ज्यान गएको आरोप लगाइएको छ। सोही आधारमा मुलुकी अपराध संहिताअन्तर्गत मुद्दा अघि बढाइएको जनाइएको छ।
नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृह प्रशासनले अनुसन्धान प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो।
प्रहरीले प्रारम्भिक रूपमा जरुरी पक्राउ पूर्जीका आधारमा नियन्त्रणमा लिएको बताइएको छ। अब कानुनी प्रक्रिया अनुसार उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ।







