काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई पार्क थप आकर्षण बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।
ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिनुभयो ।
हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तलरपाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनर्निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् ।
बालबालिकालाई रमाउन र खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।
नगरप्रमुख गिरीले भन्नुभयो, “ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणहरुलाई द्रुत रुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ ।
यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको छ । बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप रु तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवद्र्धन हुने छ ।”
नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।





