काठमाडौं।चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालका निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय ३१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।
उक्त अवधिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरेका छन्, जसले निर्जीवन बीमा क्षेत्रको विस्तारलाई संकेत गर्दछ ।गत आर्थिक वर्षको सोही अवधिमा २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन भएको थियो । यस आधारमा चालु वर्षमा बीमा व्यवसाय १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बीमा शुल्क संकलनका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले फागुनसम्म ४ अर्ब ३८ करोडभन्दा बढी बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.२५ प्रतिशतले बढी हो ।त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै दोस्रो स्थान कायम गरेको छ ।
उच्च वृद्धि दरका हिसाबले भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स अगाडि देखिएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४५.१५ प्रतिशतले बढेर ३ अर्ब २० करोड पुगेको छ भने एनएलजी इन्स्योरेन्सको ३६.२२ प्रतिशतले वृद्धि भई २ अर्ब ५३ करोड पुगेको छ ।
अन्य कम्पनीहरूको प्रदर्शन पनि उल्लेखनीय रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।यसैगरी, द ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड र नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ संकलन गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय भने घटेको देखिएको छ । कम्पनीको बीमा शुल्क २.७९ प्रतिशतले घटेर १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।
समग्रमा निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा अधिकांश कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिन्छ । विशेषगरी निजी क्षेत्रका कम्पनीहरूले सेवा विस्तार, नयाँ उत्पादन र बजार पहुँच बढाउँदै लगेको प्रभाव बीमा शुल्क वृद्धिमा परिलक्षित भएको छ ।





