काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सिफारिसका लागि आइतबार बसेको सचिवालय बैठकले ५७ उम्मेदवारको नाम टुंगो लगाएको छ।पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेका वरिष्ठ नेता बालेन शाह बैठकमा उपस्थित भएनन्। सभापति रवि लामिछाने हाल स्वास्थ्य कारण घरमै रहँदा बैठक ‘भर्चुअल’ रूपमा सञ्चालन गरिएको थियो।
सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। यसमा खसआर्य तर्फ १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ४ जनाको नाम समावेश गरिएको छ।पदाधिकारी स्रोतका अनुसार बालेन शाहको अनुपस्थितिमा पनि सभापति र वरिष्ठ नेताबीचको पूर्व सहमतिमा नाम टुंगो लगाइएको हो। ‘दुई नेताले पहिले नै नाम टुंगो लगाइसकेका थिए, सचिवालय बैठकले प्राविधिक रूपमा निर्णय गरेर आयोगमा सूची बुझाएको हो,’ एक पदाधिकारीले बताए।
रास्वपा प्रवक्ता मनिष झाले भने, ‘नाम आयोगमा बुझाइ सकेपछि आयोग आफैंले सार्वजनिक गर्ने भएकाले पार्टीले सार्वजनिक नगर्ने निर्णय गरेको छ।’समानुपातिक सूची बैठकमा बालेन टिमका अन्य सदस्यहरू पनि उपस्थित थिएनन्। निर्वाचनअघि नै बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह नियुक्त भए पनि उनीहरूको नाम केन्द्रीय समिति बैठकबाट अनुमोदन हुन बाँकी रहेकाले बैठकमा सहभागी नभएको भूपदेवले स्पष्ट पारे ।
रास्वपाको वेबसाइटमा सुनिल र भूपदेवको नाम पदाधिकारीका रूपमा समावेश गरिएको छैन भने बालेन शाहलाई वरिष्ठ नेताका रूपमा उल्लेख गरिएको छ।







