काठमाडौं, अमेरिका स्थित मनासस पार्क बस्ने नेपाली नागरिक ममता काफ्ले भट्टको हत्या सम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ। अदालत स्रोतका अनुसार, अभियोजन पक्षले अझै सबै प्रमाणहरू अदालतमा पेश गर्न नसकेका कारण सुनुवाइलाई अर्को मितिमा सारिएको हो।अदालतमा अझै डिजिटल प्रमाण विश्लेषण, फरेन्सिक रिपोर्ट र प्रत्यक्षदर्शीका विस्तृत बयानहरू लिन बाँकी रहेकाले यो मुद्दा अघि बढाउन समय लागेको जनाएको छ। प्रतिवादी नरेश भट्टका पक्षले पनि मुद्दासम्बन्धी दस्तावेजहरू अध्ययन गर्न थप समय माग गरेको थियो।
यो मुद्दा जुलाई २७, २०२४ मा ममता भट्ट अचानक हराएको घटनाबाट सुरु भएको हो। UVA प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता भट्टलाई अन्तिमपटक सोही दिन देखिएको थियो। दुई दिनपछि, जुलाई २९ मा उनले आफ्नी आमा गीता काफ्लेसँग अन्तिम भिडियो कल गरेकी थिइन्। नेपालस्थित आमा र छोरीबीच दिनमा दुईपटक नियमित कुराकानी हुने गर्थ्यो। उनि अचानक सम्पर्कविहीन भएपछि व्यापक खोजतलास तथा अनुसन्धान गरिएको थियो, जसअनुसार ममताका श्रीमान् नरेश भट्टलाई उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि पहिलो दर्जाको हत्या, शव लुकाउने, र शवमाथि अमानवीय व्यवहार गरेको अभियोग लगाइएको छ।
अहिलेसम्म ममताको शव फेला परेको छैन तर शव नभेटिएको अवस्थामा पनि पर्याप्त प्रमाण र परिस्थितिजन्य साक्षि उपलब्ध छन् भने मुद्दा अगाडि बढ्दछ , विश्वव्यापी रूपमा ‘नो-बडी हुमिसाइड केस’ को रूपमा चिनिने यस्ता घटनामा अभियुक्तमाथि कानुनी कारबाही हुन्छ।
गत आइतवार ममताको सम्झनामा प्रिन्स विलियम काउन्टी न्यायिक केन्द्र अगाडि शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको थियो। सहभागीहरू उक्त कार्यक्रममा ममताको मनपर्ने रातो रंगका पोशाकमा उपस्थिति भएका थिए। एक वर्ष पूरा हुँदासमेत मुद्दा टुंगोमा नपुग्दा परिवारजन र समुदायमा निराशा बढ्दो छ। अब अदालतले आगामी केही हप्ताभित्र नयाँ सुनुवाइ मिति तय गर्ने अपेक्षा गरिएको छ। ममताका परिवारजन र शुभेच्छुकहरूले निष्पक्ष र शीघ्र न्यायको माग गर्दै आवाज उठाइरहेका छन्।







