काठमाडौं। काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा गएराति अचानक ढुंगा खस्दा ठूलो दुर्घटना हुनबाट बचेको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार, चालकको सतर्कता र होसियारीले ठूलो जोखिम टारेको छ।

महासंघका अनुसार घटना चितवनको तुइन खोला पहिरो क्षेत्रमा भएको हो। उक्त समयमा बसमा ४३ जना यात्रु सवार थिए। घटनाको क्षण सीसीटीभी क्यामरामा रेकर्ड भएको छ। बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा भएको घटनामा काठमाडौंबाट नारायणगढ जाँदै गरेका एक यात्रु घाइते भएका थिए भने आकस्मिक ब्रेक लगाउँदा केही अन्य यात्रु सामान्य घाइते भएका थिए।

ADVERTISEMENT

महासंघका प्रवक्ताले भने, “थोरै पनि दायाँबायाँ भएको भए बस तल त्रिशूली नदीमा जाने खतरा थियो। चालकले बहादुरीपूर्वक गाडी नियन्त्रणमा राखेर सबैको ज्यान जोगाएका छन्।”

बसमा जडान गरिएको सीसीटीभी क्यामरा र जीपीएस प्रणालीले घटनाको वास्तविक स्थिति तत्काल जानकारी गराएको छ। महासंघले यसरी प्रविधि जडान भएका बसले यस्ता आकस्मिक घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।

ADVERTISEMENT

यसैबीच, महासंघले सरकारसँग आग्रह गरेको छ कि जीपीएस सिस्टम अनिवार्य गर्ने कार्यविधि तत्काल लागू गर्नुपर्छ। यसले घटनामा कसको दोष रहेको स्पष्ट गर्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुने महासंघको भनाइ छ।